तीन दिनसम्म लगातार विद्यार्थी बिरामी, विद्यालयमै धामी राखियो

काठमाडौं । मोरङको एक विद्यालयमा तीन दिनदेखि विद्यार्थी लगातार बिरामी भएपछि विद्यालयमै धामी राखिएको छ ।

मोरङको बेलबारी–६ बोराबाँधस्थित वीरेन्द्र माध्यमिक विद्यालयका दर्जनभन्दा बढी बालिका लगातार तीन दिनसम्म एकाएक बिरामी भएका हुन् ।

मुर्छा पर्ने, हातखुट्टा चिसो अनि लल्याकलुलुक हुने र चिच्याएर रुने गरेपछि शनिबार राति विद्यालयमा धामी बसाएर जोखना हेरिएको छ ।

विद्यालयको शौचालय गएर कक्षाकोठा फर्कने बित्तिकै कक्षा ४, ५ र ६ मा अध्ययनरत दर्जन बढी छात्रामा तीन दिनसम्म त्यस्तो लक्षण देखा परेको थियो ।

उक्त समस्याको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले शुक्रबार सबै विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर समस्या सुनाएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवल राई भन्नुहुन्छ – अभिभावक बोलाएर सबै सुनायौ, पत्याउनु भएन । अभिभावकहरु बच्चालाई लिएर शौचालय जानुभयो । उहाँहरुलाईनै त्यस्तो समस्या देखियो । विद्यालयबाहिरका अन्य केहीलाई पनि त्यस्तै भयो ।

त्यसपछि सबै अभिभावकले विद्यालयमा धामी बसाएर जोखना हेराउने सुझाव सबैले दिएको राईले बताउनुभयो ।

अभिभावकको सुझावपछि विद्यालय प्रशासनले शनिबार साँझ लक्ष्मीमार्गका धामी बसासाईएको राईले जानकारी दिनुभयो ।

धामीले त्यहा भड्किएर आएको आत्मा प्रवेश गरेको भनेपछि झारफुक गरेर मुन्छाएपछि आइतबार त्यस्तो समस्या नभएको राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?