किन पर्छ चाया ?, कसलाई बढी सताउँछ ?

चाया पर्ने कारणचाया पर्नुको सही कारण अहिलेसम्म पत्ता लागेको छैन । तर, हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ भन्ने सवालमा छालासम्बन्धी धेरै विशेषज्ञ सहमत छन् । यसबाहेक चाया पर्ने केही कारण खुलाइएका छन् । हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, नुहाउन अल्छी गर्नु र अस्वस्थ शरीर, टाउकोमा धेरै पसिना आउने समस्या, अस्वस्थ खानपानलगायत चाया पर्ने कारण हुन् । यसैगरी, कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग, चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण, मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता, शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटीले पनि चाया निम्त्याउँछ कसलाई बढी सताउँछ ?चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेषगरी १२ देखि २० वर्षको उमेरमा बढी देखा पर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ चिकित्सकलाई देखाउने अवस्थाचायाका कारण तालु नै रातो भयो, चिलाउन थाल्यो, त्यहाँबाट रगत आयो वा पोल्न पनि थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने, यस्तो समस्या अनुहारसम्म सर्न पनि सक्छ । यदि तालुको केही भागको छाला खुइलिन थाल्यो, कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ छालाको स्याहार गर्ने तरिकाचायालाई पूरै निर्मूल पार्न सकिँदैन, तर यसको असरलाई निश्चित रूपमा कम गर्न भने अवश्य सकिन्छ । त्यसका लागि तनाव कम गर्दै लैजाने प्रयास गर्नुपर्छ । नियमित रूपमा कपाल स्याम्पुले धुनुपर्छ । कपाल सज्जा गर्ने विभिन्न किसिमका रसायनयुक्त साधन प्रयोग नगर्नु राम्रो हुन्छ । स्वस्थ खानेकुरा सेवन गर्ने, विशेष गरेर जंकफुड नखाने, चर्को घामबाट बच्ने र हिँड्नै परे पनि छाताको सहारा लिने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?