लक्ष्यभन्दा ५३ अर्ब ६९ करोड कम राजस्व असुली

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो ।

यस अवधिमा कुल १ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिकमा १ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० प्रतिशत राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, साउनदेखि असोजसम्मको अवधिमा जम्मा २.५९ प्रतिशत मात्रै वृद्धि भएको देखिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ महिनामा कुल वार्षिक लक्ष्यको १६.४३ प्रतिशत राजस्व उठेको छ । जसमा करबाट कुल १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख रुपैयाँ उठेको छ भने गैरकरबाट १० अर्ब ५१ करोड १८ लाख रुपैयाँ उठेको छ । महालेखा नियन्त्रकको तथ्यांकलाई आधार मान्ने हो भने पहिलो त्रैमासिकमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?