अमेरिकाभरि दूतैदूत, सुन्दरीहरूदेखि ट्याक्सी चालकसम्म पर्यटन सद्भावनादूत

मेरिल्यान्ड — अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउस’ सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए । ‘मलाई राजनीतिक कार्यकर्ता भएका आधारमा नियुक्ति दिइएको होइन,’ रिमालले भने, ‘अरू धेरैजसो भने राजनीतिक आस्थाका आधारमा दूत बनेका हुन् ।’

नेपाल पर्यटन बोर्डले बाँड्ने दूत पदको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली भएर अमेरिकी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्ने’ जस्ता सर्तराखिएका छन् । ‘तर को, किन र कसरी दूत बनेको हो, थाहा भएन । दूतहरू को, कति, कहाँ छन् भन्ने थाहा छैन । साझा नेटवर्क पनि छैन,’ रेस्टुराँ व्यवसायी रिमाल भन्छन् । प्रभा देउजा पनि आफू बाल्टिमोरका लागि नेपाली महिला दूत रहेको दाबी गर्छिन् ।
एटलान्टाका खुद्रा व्यवसायी राजा घले पनि आफूलाई पर्यटनदूत दाबी गर्छन् ।

न्युयोर्क बस्ने प्रदीप श्रेष्ठ अर्का पर्यटनदूत हुन् । ट्याक्सी चालक उनी नेपालबाट आउने र विशेषगरी पर्यटन मन्त्रालय एवम् पर्यटन बोर्डसम्बद्ध आगन्तुकका लागि अरू सबैले देखिने गरी ‘सेवक’ बन्ने गरेका छन् । हालै मात्र टेक्सासको ह्युस्टनमा ‘ज्याक’ भनिने जगदीश काफ्ले पर्यटनदूत नियुक्तभएका छन् ।

यस अतिरिक्त केही सुन्दरीहरूलाई पर्यटन सद्भावनादूतका रूपमा पनि काम गर्ने गरी पर्यटनबोर्डले पत्र बाँडेको छ । यसमध्ये पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीकी बुहारी नवीना बस्नेत पनि परेकी छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीका अनुसार पर्यटनदूतमा राजनीति हाबी भएपछि अहिले दूत नियुक्ति प्रक्रिया पूरै रोकिएको छ ।
अमेरिकामा रहेका झन्डै डेढ दर्जन दूतहरूबारे वासिङ्टन र न्युयोर्कमा रहेका नेपाली कूटनीतिक नियोग पनि बेखबर छन् । कान्तिपुर दैनिकमा याे खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?