प्रधानमन्त्री ओली यसै साता स्वदेश फर्कने, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली यसै साता स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य जाँच बुधबार पूरा हुने र बिहीबारसम्ममा रिपोर्ट आए प्रधानमन्त्री शुक्रबार स्वदेश फिर्ता हुन लाग्नुभएको हो । तर, रिपोर्ट आउन ढिला भए केहीदिन स्वदेश फर्किन केही ढिला हुनसक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको छ ।

“सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार भोलि सोमबार छैटौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ,” उहाँले भन्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर नै पुग्नुभएका ऊर्जामन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको थियो ।

“आज सिङ्गापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो र सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधवारको जाँचपश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो । थप स्वास्थ्य लाभको कामना,” उहाँले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?