बर्दिया, १९ मङ्सिर- चुनाव प्रचारप्रचारको अन्तिम दिन सोमबार उम्मेदवारहरू दिनभरजसो सभा र र्यालीमा व्यस्त भए । मौन अवधि सुरुसँगै उनीहरूले ‘भोटबैंक’ मा नजर लगाएका छन् । उम्मेदवारका सहयोगीहरू बाँके र बर्दियाका सबैभन्दा ठूला भोटबैंक मुक्त कमैया बस्तीहरूमा छिरिसकेका छन्, कान्तिपुरमा खबर छ चुनावको अघिल्लो रातसम्म ती सहयोगीहरू मुक्त कमैया बस्तीहरूमा सक्रिय हुन्छन् । केही बस्तीकै अगुवा छन् । उनीहरूको काम जग्गा दिने उम्मेदवारको आश्वासनदेखि ‘खानपिन’ को व्यवस्था मिलाउनेसम्म हुन्छ । घर–घरमा रक्सी र मासु पुग्छ । ‘एउटा नेता आएर जग्गा दिन्छु भन्छ । अर्कोले पनि त्यही दोहोर्याएर जान्छ । यस्तो आश्वासनले कमैयाहरू दोधारमा पर्छन्,’ कमैया परिवारकी संगीता चौधरी भन्छिन्, ‘जाँडरक्सी र पैसामा भोट लिन खोज्छन् ।’ प्रचारप्रसार सकिएपछि कमैया बस्तीमा नेताहरू अनेक प्रलोभन देखाउन आउने गरेको उनी बताउँछिन् मुक्त कमैया बस्तीको भोट अस्थिर हुने भएकाले नतिजा तल–माथि पार्न सक्छ । जसले ती बस्तीको राम्रो भोट पाउँछ उसले जित्ने सम्भावना अत्यधिक रहन्छ । त्यसैले उम्मेदवारको ध्यान कमैया बस्तीले सधैं तान्ने गरेको हो । बर्दियाका माछागढ, बैदीगाउँ हुँदै कालिकासम्म फैलिएको लम्की फाँटमा मुक्त कमैयाका आधा दर्जन धेरै बस्ती छन् । प्रतिनिधिसभा क्षेत्र १ मा पर्ने उक्त फाँटमा जनतानगर, टेसनपुर, शक्तिपुर, विजयनगर, माछागढ र नयाँबस्ती पर्छन् । त्यस्तै, प्रतिनिधिसभा क्षेत्र २ अन्तर्गत पर्ने संघर्षनगर, छेडिया, शान्तिपुर र खैरीलगायत कमैया फाँटमा पनि त्यस्तै दृश्य देखिएको छ । चुनावसँगै कमैया बस्तीमा भित्रभित्रै ‘भोटका लागि भोज’ चलिरहेका छन् । ‘कमैया परिवार पढ्न–लेख्न जान्दैनन् । एउटा भोटले के गर्छ भन्ने थाहा छैन । रक्सी–मासु दिनेलाई भोट दिने चलन छ,’ राजापुर चैनपुरकी मुक्त कमैया विष्णी चौधरीले भनिन्, ‘गाउँमा भोजभतेर फेरि सुरु भइसकेको छ । उम्मेदवारले सोझा कमैयाको भोट मासु र रक्सीमा किन्ने रणनीति बनाएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया