एजेन्सी । म्यानमारमा हालै भएको सैन्य कारबाहीबाट आफ्नो ज्यान जोगाउन भागेर छिमेकी देश बंगलादेश पुगेका हजारौँ रोहिंज्या मुसलमानहरुको घरफिर्तीका लागि बंगलादेशले म्यानमारसँग एक समझदारी गरेको छ । म्यानमारको राजधानी न्यपि ट मा हस्ताक्षर गरिएको उक्त समझदारीबारे विस्तृत विवरणहरु सार्वजनिक गरिएका छैनन् । यस समझदारीलाई बांग्लादेशले ‘पहिलो कदम’ भनी उल्लेख गरेको छ । म्यानमारले भने रोहिंज्याहरुलाई ‘जतिसक्दो चाँडो’ घरफिर्ता गराउनका लागि तयार भएको बताएको छ । रोहिंज्याहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै सहायता निकायहरुले उनीहरुलाई जबरजस्ती घरफिर्ती गराउनेबारे चिन्ता प्रकट गर्दै आएका थिए । राज्यविहीन भएका रोहिंज्याहरु मुख्यतः मुसलमान अल्पसंख्यक हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उनीहरु उत्पीडनमा पर्दै आएका छन् । बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले रोहिंज्याविरुद्ध म्यानमारको सेनाको गरेको कारबाहीलाई जातीय सफाया सरह भएको बताएका थिए । गत हप्ता म्यानमारको सेनाले रोहिंज्या संकटलाई लिएर उसमाथि लागेको आरोपमा आफू निर्दोष रहेको बताएको थियो । रोहिंज्या मुसलानलाई मारेको‚ उनीहरुको बस्तीमा आगो लगाएको‚ अनि महिला र किशोरीलाई बलात्कार गरेको तथा सरसमान चोरेको आरोपलाई म्यानमारको सेनाले अस्वीकार गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया