कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल-चीन उच्चस्तरीय पहल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल र चीन जोड्ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको हो ।

परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, र सडक डिभिजन चरीकोटका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको वर्तमान अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमनका क्रममा विशेष गरी नाकासम्म पुग्ने राजमार्गको भौतिक अवस्था र सञ्चालनमा रहेका प्राविधिक कठिनाइहरूको सुक्ष्म विश्लेषण गरिएको छ ।

टोलीले सडकको भौतिक अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध आउन नदिने र आपूर्ति प्रणालीलाई सहज बनाउने निष्कर्ष निकालेको छ ।

अनुगमनपछि आयोजित बैठकमा नेपाली पक्षले चिनियाँ प्रतिनिधिहरूसँग सीमा नाकालाई थप गतिशील बनाउन तथा दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक पूर्वाधार सुधारमा सहकार्य गर्न आग्रह गरेको छ ।

सीमा क्षेत्रको सडक मर्मत र सुधारका लागि तत्काल काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका व्यावहारिक जटिलताहरू समाधान गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

प्रशासनले पनि सुरक्षा र व्यवस्थापनका लागि आफूहरू तयार रहेको प्रतिवद्धता जनाएको छ । यो उच्चस्तरीय पहलले लामो समयदेखि विभिन्न कारणले प्रभावकारी बन्न नसकेको तातोपानी नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप बल पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?