मर्स्याङ्दी नदी थुनिएपछि ताल बन्यो, खुलाउने प्रयास जारी

लोकपथ
0
Shares

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ ।

नदी थुनिएर बनेको ताललाई स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरी खोल्ने काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार नदीको धार परिवर्तन गरी पानी आंशिक रूपमा बगिरहेको छ । एक्साभेटरलगायतका उपकरण प्रयोग गरेर नदीमा अड्किएका ढुङ्गा हटाउने काम भइरहेको छ ।

‘यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी केही मात्रामा काम सुरु भएको छ,’ पौडेलले भने, ‘ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।’

पुलमाथिबाटै नदीले धार परिवर्तन गरेकाले आसपासका केही घर डुबानमा परेको उनले बताए ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय स्रोतसाधन प्रयोग गरेर नदीको बहाव खुलाउन सके स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने बताए ।

चट्टान फुटाउन विस्फोट गराउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । एक्साभेटरबाट अड्किएका ढुङ्गा हटाउन सके तटीय क्षेत्रमा हुने क्षति कम गर्न सकिने उनले बताए ।

लमजुङ हिमालको शिरतर्फ रहेको घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा खसेपछि मर्स्याङ्दी नदी थुनिएको हो । नदीको बहावलाई पुरानै अवस्थामा फर्काउन वरपरका क्षेत्रमा क्षति नपुग्ने गरी विस्फोट गराएर चट्टान फुटाउने विषयमा अध्ययन भइरहेको पौडेलले बताए ।

बाढी र पहिरोका कारण मनाङमा विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएका छन् । सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ङिस्याङ गाउँपालिका–४ हुम्देमा बाढी र पहिरोका कारण आसपासका बस्तीमा पानी र हिलो घरभित्र पसेको छ । सब्जे खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ ।

यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?