बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा क्षति, ७४८ मेगावाट प्रभावित

लोकपथ
0
Shares

काठमाडौं । चीनमा भएको लगातारको वर्षापछि भोटेकोशी नदीमा आएको ठूलो बाढीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण दुवै जिल्लाका १३ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता ७४८।१२ मेगावाट रहेको छ ।

बाढीका कारण सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट छुटेको छ । त्यस्तै, निर्माणाधीन ५ वटा आयोजनाका संरचनामा क्षति पुगेको छ ।

रसुवामा निजी क्षेत्रबाट सञ्चालन भइरहेका रसुवागढी, सान्जेन खोला, चिलिमे र लाङटाङ खोला जलविद्युत आयोजनाको गरी २३१ मेगावाट विद्युत् उत्पादन रोकिएको छ ।

नुवाकोटमा नेपाल विद्युत प्राधिकरणअन्तर्गतका माथिल्लो त्रिशूली–३ए, त्रिशूली, देवीघाट र नुवाकोट ग्रिड सोलार आयोजनाबाट उत्पादन हुने १२३।१ मेगावाट विद्युत् पनि अवरुद्ध भएको छ ।

बाढीसँगै नदीमा बालुवा, लेदो र माटो धेरै आएपछि सञ्चालनमा रहेका आयोजना तत्काल बन्द गर्नुपरेको हो । विद्युत् उत्पादनमा आएको कमीका कारण काठमाडौं उपत्यका र आसपासका औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ ।

निर्माणाधीन आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । रसुवामा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको पहुँचमार्ग, सुरुङ र साइट क्याम्पमा क्षति पुगेको छ ।

त्यस्तै, १२० मेगावाटको रसुवा–भोटेकोशी र ६।४२ मेगावाटको माथिल्लो मैलुङ–ए आयोजनाका बाँध तथा पेनस्टक संरचनामा क्षति पुगेको छ । रसुवामा मात्रै निर्माणाधीन तीन आयोजनाको ३४२।४२ मेगावाट क्षमता प्रभावित भएको छ ।

नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा पनि बाढी पसेर संरचना र निर्माण सामग्रीमा क्षति पुगेको छ ।

बाढीबाट निजी क्षेत्रका जलविद्युत आयोजना बढी प्रभावित भएका छन् । कुल १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका हुन् । निजी आयोजनाको कुल ६२५ मेगावाट क्षमता प्रभावित भएको प्रारम्भिक विवरण छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार निजी क्षेत्रका जलविद्युत आयोजनामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

बाढी र पहिरोका कारण त्रिशूली–काठमाडौं प्रसारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङ ल्हामु राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध भएको छ । यसले आयोजना स्थलमा प्राविधिक टोली र आवश्यक उपकरण लैजान समस्या भएको छ ।

लाङटाङ खोला आयोजनाका दुईवटा प्रसारण टावर ढलेका छन् । माथिल्लो त्रिशूली–३एको स्विचयार्ड नजिकको डाँडोसमेत भासिएको छ । त्यहाँ तत्काल रोकथामको काम सुरु गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो हटाउने र नदीको पानीको सतह घटेपछि मर्मतको काम अघि बढाइनेछ । अवस्था सामान्य भएमा बाढीबाट रोकिएका आयोजनाबाट १ देखि ३ हप्ताभित्र क्रमशः विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?