काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जोकोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।
उनका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन तथा अन्तर्घातसम्बन्धी विभिन्न जिल्लाबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् । समितिले ती उजुरीमाथि गम्भीरतापूर्वक छानबिन गरिरहेको र अधिकांश उजुरीहरू किनारा लगाउने प्रक्रियामा रहेको गुरुङले जानकारी दिए ।
समितिले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीको फैसला गरिसक्ने लक्ष्य लिएको उनले बताए । वडा अधिवेशनअघि नै अनुशासनसम्बन्धी सबै विषय टुंगो लगाएर पार्टीलाई शुद्धीकरण गर्ने पक्षमा समिति रहेको उनको भनाइ छ ।
समितिले पछिल्लो समय भएका केही गतिविधिमाथि समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विशेषगरी डा। शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको एक भेलामा पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेट राखेर स्वागत गरिएको विषयमा समितिले प्रश्न उठाएको छ ।
संयोजक गुरुङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटरप्याडको प्रयोग तथा पार्टीको मर्यादाविपरीतका गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले भने, ‘वडा अधिवेशनभन्दा पहिले नै अनुशासनका सबै विषयहरू टुंगो लगाएर पार्टीलाई शुद्धीकरण गर्ने पक्षमा हामी छौँ । हाम्रो निर्णय आम कार्यकर्ता र जनताले समेत न्यायोचित ठान्ने खालको हुनेछ ।’
पूर्वसभापतिलाई वर्तमान सभापतिकै हैसियतमा प्रस्तुत गर्ने गरी नेमप्लेट राख्नु र नक्कली लेटरप्याड प्रयोग गर्नु विधानसम्मत नभएको उनको भनाइ छ । त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द तथा उपस्थितिको पूर्ण अभिलेख संकलन भइरहेको उनले बताए ।
‘पार्टी र नेतृत्वको गरिमामा आँच पुर्याउने जो कोहीको पनि छानबिन हुनेछ,’ गुरुङले भने ।
अनुशासन समितिले आफूलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दाबी गरेको छ । समितिले कांग्रेसको विधानको धारा १७ (२) बमोजिम काम गरिरहेको जनाएको छ ।
पार्टी हितका लागि गरिने भेला तथा सम्मेलनमा बन्देज नरहेको स्पष्ट पार्दै समितिले पार्टीकै विरुद्धमा हुने गतिविधिमाथि भने कडा निगरानी राख्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया