खराब कर्जा घटेपछि विकास बैंकहरूको नाफा ६४ प्रतिशतले बढ्यो

लोकपथ
0
Shares

काठमाडौं । विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा १६ वटा विकास बैंकले कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ प्रतिशत बढी हो ।

आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूको कुल खुद नाफा ५ अर्ब ६७ करोड रुपैयाँ थियो । खराब कर्जा असुलीमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा ब्याज, शुल्क र कमिसनबाट हुने आम्दानी बढेपछि बैंकहरूको नाफा बढेको हो ।

नेपालमा १७ वटा विकास बैंक रहे पनि समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेकाले यसको वित्तीय विवरण यसमा समावेश गरिएको छैन ।

गत आर्थिक वर्ष सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा गरिमा विकास बैंक रहेको छ। बैंकले १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ ।

साइन रेसुङ्गा विकास बैंक र ज्योति विकास बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । राष्ट्रियस्तरका ८ विकास बैंकले मात्रै ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

तर सबै विकास बैंकको अवस्था भने समान छैन । नारायणी विकास बैंक गत आर्थिक वर्ष घाटामा जाने एकमात्र विकास बैंक बनेको छ। बैंकले ५ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

बैंकहरूको खुद नाफा बढे पनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ५ अर्ब ६७ करोड रुपैयाँमा सीमित छ । उठ्न बाँकी ब्याज, कर्जा जोखिम र गैरबैंकिङ सम्पत्तिसँग सम्बन्धित जोखिमका लागि रकम छुट्याउनुपर्ने भएकाले खुद नाफा र वितरणयोग्य नाफाबीच ठूलो अन्तर देखिएको हो ।

वितरणयोग्य नाफामा पनि गरिमा विकास बैंक अगाडि छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाए पनि वितरणयोग्य नाफा ६७ करोड रुपैयाँ मात्रै छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

बैंकहरूको नाफा बढ्नुमा खराब कर्जा व्यवस्थापनमा आएको सुधारलाई मुख्य कारण मानिएको छ । कर्जा असुलीमा सुधार भएपछि प्रोभिजनिङ खर्च घटेको छ । यसले बैंकहरूको सञ्चालन तथा खुद नाफा बढाउन सहयोग गरेको हो ।

त्यसैगरी, खुद ब्याज आम्दानी तथा शुल्क र कमिसनबाट हुने आम्दानी बढ्दा पनि नाफामा सुधार आएको छ ।

तर आर्थिक गतिविधिमा सुस्तता, कर्जा असुलीको समस्या, ऋण नतिर्ने अभियान, राजनीतिक अस्थिरता र बढ्दो प्रतिस्पर्धा अझै चुनौतीका रूपमा रहेको बैंकहरूले बताएका छन् ।

कर्जा दिनका लागि बैंकसँग पर्याप्त स्रोत भए पनि आर्थिक गतिविधि कमजोर हुँदा कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । यसले बैंकिङ प्रणालीमा तरलता बढाउने र कर्जा विस्तार तथा आम्दानीमा दबाब सिर्जना गर्ने अवस्था देखिएको छ ।

समग्रमा विकास बैंकहरूको नाफा बढ्नु सकारात्मक भए पनि सबै बैंकको लाभांश क्षमता भने समान छैन । वितरणयोग्य नाफा, खराब कर्जा, पुँजी पर्याप्तता र नियामकीय व्यवस्थाले बैंकको वास्तविक लाभांश क्षमता निर्धारण गर्नेछ ।

आगामी दिनमा कर्जा असुली, खराब कर्जा नियन्त्रण र उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न सक्ने क्षमताले बैंकहरूको नाफा टिकाउ हुन्छ कि हुँदैन भन्ने निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?