मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रक्रिया सुरु भएको छ ।
सोमबार प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार (आज) दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम स्वीकृत गरिएको जनाएको छ ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
यसअघि मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन पश्चात् राजिनामा दिने घोषणा गरेका थिए ।
विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने सम्भावना नरहेपछि मत विभाजनमा नगई पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका थिए ।
प्रदेश प्रमुखको आह्वानसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
तोकिएको समयभित्र बहुमतसहित दाबी पेस भए प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। यदि बहुमतको दाबी पेस हुन नसके संविधानले व्यवस्था गरेको अर्को प्रक्रियाअनुसार सरकार गठनको पहल अघि बढ्नेछ ।
नेपाली कांग्रेस र नेकपा एमालेको साझेदारीमाबानियाँ नेतृत्वको सरकार २०८२ साउन २० गते संविधानको धारा १६८ (२) बमोजिम गठन भएको थियो। एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यबस्था रहे पनि प्रदेश सभामा आवश्यक ५३ सांसदको समर्थन जुटाउन नसक्ने अवस्था देखिएपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिने निर्णयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया