जेनजी आन्दोलनको असर निर्जीवन बीमा कम्पनीमा, प्रभुले नाफा बढाउँदा अन्यलाई थप चुनौती

लोकपथ
14
Shares

काठमाडौं । अन्य क्षेत्र जस्तै निर्जीवन बीमा कम्पनीहरुलाई गत आर्थिक वर्ष चुनौतीपूर्ण रह्यो ।

गत भदौमा भएको जेनजी आन्दोलन र त्यसले व्यवसायीक क्षेत्रमा पुर्‍याएको असर र ठूलो भौतिक क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरुका लागि चुनौती थपिएको हो ।

प्राकृतिक विपत्तिदेखि जेनजी आन्दोलनको असरका कारण ठूलो संख्यामा बीमा दाबी परेपछि कम्पनीहरूको वित्तीय प्रदर्शनमा उल्लेख्य दबाब परेको हो ।

हाल नेपालमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुको कुल खुद नाफामा ३९ दशमलव २९ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूले संयुक्त रूपमा ४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका थिए । तरगत आर्थिक वर्षमा भने यो रकम घटेर २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

सबै कम्पनीहरुको विस्तृत समीक्षा गर्दा प्रभु इन्स्योरेन्सबाहेक अधिकांश कम्पनीको नाफा घटेको छ । प्रभु इन्स्योरेन्सले भने ११.७१ प्रतिशतले नाफा वृद्धि गर्दै २६ करोड ६४ लाख रुपैयाँ पुर्‍याएको छ ।

अघिल्लो वर्ष घाटामा रहेको द ओरियन्टल इन्स्योरेन्सले भने वित्तीय अवस्था सुधार गर्दै ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ । तर नेसनल इन्स्योरेन्स भने १३ करोड १० लाख रुपैयाँ घाटामा रहेको छ ।

ठूला बीमा कम्पनीहरूमा पनि नाफा घट्ने क्रम तीव्र देखिएको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । कम्पनीको खुद नाफा ९८ दशमलव ५९ प्रतिशतले घटेर ४० लाख ३६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको शिखर इन्स्योरेन्सको नाफा पनि ७१ दशमलव २१ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा सीमित भएको छ ।

कुल नाफाको आकारका आधारमा अगाडि रहेको नेपाल इन्स्योरेन्सको खुद नाफा ५८ दशमलव ६९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३२ दशमलव ७४ प्रतिशतले घटेर ३७ करोड ५४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १९ दशमलव ४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३६ दशमलव ५२ प्रतिशतले घटेर ३३ करोड ७५ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५६ दशमलव ७५ प्रतिशतले घटेर ३२ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

यसैगरी नेको इन्स्योरेन्सको खुद नाफा ५० दशमलव १२ प्रतिशतले घटेर २८ करोड ८३ लाख रुपैयाँमा आएको छ । सानिमा जीआईसी इन्स्योरेन्सको नाफा ६१ दशमलव ३८ प्रतिशतले घटेर १३ करोड रुपैयाँ कायम भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सले ६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६४ दशमलव ५५ प्रतिशत कम हो। एनएलजी इन्स्योरेन्सको नाफा पनि ६२ दशमलव ३० प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।

समग्रमा, असामान्य बीमा दाबी र दाबी भुक्तानीको बढ्दो दबाबले गत आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीहरूको नाफामा ठूलो असर पारेको देखिन्छ । प्राकृतिक विपत्ति र आन्दोलनजन्य क्षतिले एकै समयमा बीमा दायित्व बढाउँदा अधिकांश कम्पनीको वित्तीय प्रदर्शन कमजोर बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?