काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुँदै आएको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएका छन् ।
दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि ‘अनुपयुक्त र शत्रुतापूर्ण सन्देश’ भएको बताएका छन् । अभ्यास रद्द गर्न ढिलो भइसकेकाले रक्षामन्त्री पिट हेगसेथलाई अभ्यासमा भारी कटौती गर्न निर्देशन दिएको उनले उल्लेख गरेका छन् ।
ट्रम्पका अनुसार उनले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको आणविक निशस्त्रीकरण प्रयासमा अमेरिकालाई सहयोग गर्ने विषयमा कुरा गरेका थिए । तर, दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उनको दाबी छ ।
दक्षिण कोरिया र अमेरिकी सेनाबीच सोमबारदेखि सुरु भएको ११ दिने ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध संयुक्त प्रतिरक्षा क्षमता सुदृढ गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको हो ।
अभ्यासमा वास्तविक गोलीबारी, सैन्य युक्ति तथा नदी पार गर्ने अभ्यासलगायतका गतिविधि समावेश छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले अभ्यास योजनाअनुसार नै सुरु भएको पुष्टि गरेको छ ।
ट्रम्पको निर्णयलाई अमेरिकी डेमोक्र्याटिक सिनेटर तथा पूर्व नौसेना पाइलट मार्क केलीले आलोचना गरेका छन् । उनले संयुक्त सैन्य अभ्यास कमजोर पार्ने निर्णय अदूरदर्शी र गल्तीपूर्ण भएको बताएका छन् ।
उत्तर कोरियाले पनि संयुक्त सैन्य अभ्यासलाई ‘आक्रामक युद्धको पूर्वाभ्यास’ भन्दै यसले क्षेत्रीय अस्थिरता बढाउने आरोप लगाउँदै अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको थियो ।
सन् २०१९ मा ट्रम्प र किमबीचको आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिएको छ । ट्रम्पले भने आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए र दोस्रो कार्यकालमा पनि उनीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्दै आएका छन् ।
यसअघि सन् २०१८ मा सिङ्गापुरमा किमसँग भेट गरेपछि ट्रम्पले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई ‘उत्तेजक’ भन्दै रोक्ने घोषणा गरेका थिए । उनले त्यस्ता अभ्यास बन्द गर्दा ठूलो रकम बचत हुने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया