काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ५ अर्ब रुपैयाँ नाँघेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशतले बढेको हो ।
बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ थियो ।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीसमेत बढेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा अघिल्लो वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वित्तीय विवरणमा लाभांश वितरण क्षमता पनि बलियो देखिएको छ । नियमनकारी समायोजनपछिको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजन गर्दा बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको प्रतिसेयर लाभांश क्षमता ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ । यसले बैंकका सेयरधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने क्षमता रहेको देखाएको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप तथा कर्जा प्रवाहमा समेत वृद्धि गरेको छ । ग्राहकबाट संकलित निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले प्रवाह गरेको कर्जा १०.३७ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाहमा दोहोरो अंकको वृद्धि भएसँगै बैंकको कुल सम्पत्तिको आकार पनि ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी वृद्धिका कारण प्रतिसेयर आम्दानीमा सामान्य दबाब देखिए पनि बैंकको जगेडा कोष बलियो रहेको छ ।
सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । समग्रमा नाफा, व्यवसाय विस्तार, कर्जा वृद्धि र वितरणयोग्य नाफाका आधारमा एभरेष्ट बैंकको वित्तीय अवस्था मजबुत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया