काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.६८ प्रतिशतले बढेको हो ।
नाफामा आएको उल्लेख्य वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकको नाफा १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीले बढेको हो ।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीको सुधारसँगै इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले पनि महत्वपूर्ण भूमिका खेलेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब २३ करोड ४४ लाख रुपैयाँबाट घटेर ८४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १० अर्ब १४ करोड रुपैयाँ हाराहारीमा थियो ।
बैंकको गैरब्याज आम्दानीतर्फ पनि सुधार देखिएको छ । खुद शुल्क तथा कमिसन आम्दानी ८.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । आम्दानीका प्रमुख स्रोतमा भएको वृद्धिले बैंकको समग्र वित्तीय प्रदर्शनलाई बलियो बनाएको देखिन्छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४–१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १३ अर्ब १७ करोड रुपैयाँ हाराहारीमा थियो । सञ्चालन मुनाफा भने ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
नाफामा भएको वृद्धिको प्रभाव प्रतिशेयर आम्दानीमा पनि देखिएको छ । अघिल्लो आर्थिक वर्ष १८ रुपैयाँ १४ पैसा रहेको अर्निङ पर शेयर (ईपीएस) गत आर्थिक वर्षमा बढेर २९ रुपैयाँ १४ पैसा पुगेको हो । अर्थात् एक वर्षमा बैंकको ईपीएस करिब ११ रुपैयाँले बढेको छ ।
यता, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यसअनुसार प्रतिशेयर वितरणयोग्य आम्दानी ६ रुपैयाँ ८९ पैसा कायम भएको छ । वितरणयोग्य मुनाफाका आधारमा बैंकको आगामी लाभांश क्षमतासमेत निर्धारण हुनेछ ।
खराब कर्जातर्फ भने सामान्य दबाब देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३.७९ प्रतिशत रहेको बैंकको खराब कर्जा (एनपीएल) अनुपात बढेर ३.९५ प्रतिशत पुगेको छ । यद्यपि, आधार दर भने घटेको छ । अघिल्लो वर्ष ४.८९ प्रतिशत रहेको आधार दर समीक्षा अवधिमा घटेर ४.२२ प्रतिशतमा झरेको छ । बैंकको कर्जा–निक्षेप अनुपात ५०.८७ प्रतिशत कायम छ ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोष १०.७० प्रतिशतले बढेर ४० अर्ब ४५ करोड ४ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेख्य वृद्धि गरेको छ । समीक्षा अवधिसम्म बैंकले ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा १३.६० प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया