काठमाडौं । मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ ।
आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच ऋण लगानीसम्बन्धी सम्झौता भएपछि आयोजनाका लागि आवश्यक रकम जुटेको हो ।
सम्झौताअनुसार एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । एनएमबि बैंक मुख्य अर्थात् ‘लिड बैंक’ र सानिमा बैंक सहायक बैंकका रूपमा रहनेछन् ।
दुवै बैंकले आयोजनामा गरी १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजनाको कुल अनुमानित लागत भने १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।
आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ८३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माण काम छिट्टै सुरु गर्ने तयारी कम्पनीले गरेको छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत निर्माण हुन लागेको हो ।
माउन्टेन इनर्जीले यसअघि निर्माण गरेका ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया