शेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
0
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ अंकको गिरावट आउँदा लगानीकर्ताको उत्साह घट्न पुगेको छ । दिनभरजसो उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको बजार बन्द हुने समयसम्म आइपुग्दा २१ दशमलव १५ अंकले ओरालो लाग्दै २६६३.१८ बिन्दुमा समेटिएको छ ।

बिक्रीकर्ताको चाप बढेका कारण बजार सुरुदेखि नै दबाबमा परेको थियो । मंगलबार ३४३ कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २ सय ७२ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

घटबढका आधारमा हेर्दा आज अधिकांश कम्पनी रातो क्षेत्रमा खुम्चिएका छन् । कुल २१३ कम्पनीको शेयर मूल्य घट्दा बजारमा सुस्तता देखिएको छ भने ५९ कम्पनीका लगानीकर्ताले मात्र केही रकम जोड्न सफल भए । बाँकी ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

समग्र बजार राताम्मे बने पनि केही विशिष्ट कम्पनीहरूमा भने लगानीकर्ताको आकर्षण देखियो । एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा १५ प्रतिशतको उछाल आउँदै प्रतिशेयर १७३१.४० रुपैयाँ पुगेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको मूल्य ५.२६ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज खानीखोला हाइड्रोपावरले वर्चस्व कायम गर्‍यो । उक्त कम्पनीको ४० करोड ६६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भयो । यसैगरी सिद्धार्थ बैंक (१६ करोड ७७ लाख), नेशनल हाइड्रोपावर (१६ करोड ५७ लाख) र सेन्ट्रल फाइनान्स (१४ करोड ९१ लाख) पनि धेरै कारोबार हुने शीर्ष सूचीमा परे ।

मंगलबारको गिरावटसँगै समग्र बजार पूँजीकरणमा समेत संकुचन आई ४५ खर्ब ७६ अर्ब रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?