गण्डकी । अन्नपूर्ण पदमार्गमा आर्थिक वर्ष २०८२/८३ का क्रममा लेक लागेर २५ जना पर्यटकको मृत्यु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो अवधिमा १२ जना नेपाली, नौ जना भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना पर्यटकले ज्यान गुमाएका हुन् ।
आयोजनाका प्रमुख डा.रविन कडरियाका अनुसार मृत्यु हुनेमध्ये १५ जना मुस्ताङ, आठ जना मनाङ, एक जना अन्नपूर्ण आधार शिविर (एबीसी) र एक जना मर्दी हिमाल क्षेत्रमा रहेका थिए। मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया थिए ।
लेक लाग्नुका साथै पदयात्राका क्रममा लडेर र अन्य दुर्घटनाका कारण पनि पाँच जना पर्यटकको मृत्यु भएको आयोजनाले जनाएको छ । मनाङ क्षेत्रमा भारी हिमपातका कारण एक भारतीय पर्यटकको ज्यान गएको थियो भने हिमलुङ हिमाल आरोहण गरेर फर्किने क्रममा एक अष्ट्रेलियाली पर्यटकको मृत्यु भएको थियो । त्यस्तै मर्दी हिमाल पदयात्राका क्रममा एक नेपाली पदयात्री र म्याग्दीको खोप्रा लेक क्षेत्रमा पदयात्राका क्रममा एक जर्मन नागरिकको पनि मृत्यु भएको छ ।
आयोजनाका अनुसार लेक लाग्ने घटना विशेषगरी मुस्ताङ र मनाङको उपल्लो भेगमा बढी हुने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर २१ जना र २०८१/८२ मा १९ जना पर्यटकको मृत्यु भएको थियो। यस वर्ष उक्त संख्या बढेर २५ पुगेको छ ।
डा। कडरियाले सडकमार्ग हुँदै एकैपटक मुक्तिनाथजस्ता उच्च हिमाली क्षेत्रमा पुग्ने नेपाली तथा भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको बताए । उनका अनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा शरीरलाई उचाइसँग अनुकूल हुन पर्याप्त समय दिनुपर्छ र एकैपटक धेरै उचाइमा पुग्नु हुँदैन । ‘लेक लागेको लक्षण देखिनेबित्तिकै तत्काल कम उचाइ भएको स्थानमा झर्नुपर्छ,‘उनले भने ।
पदयात्राका क्रममा हुने दुर्घटना पनि हरेक वर्ष दोहोरिने गरेको भन्दै एक्लै यात्रा नगरी समूहमा वा अनुभवी पथप्रदर्शकको साथमा यात्रा गर्न उनले सुझाव दिए ।
अनुभवी पथप्रदर्शक दिवस गुरुङका अनुसार कम उचाइबाट सिधै गाडीमार्फत मुक्तिनाथजस्ता स्थानमा पुग्दा लेक लाग्ने जोखिम उच्च हुन्छ । उनले स्थानीय हावापानीसँग शरीरलाई बिस्तारै अनुकूल गराउँदै विश्रामसहित यात्रा गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार सुरक्षित पदयात्राका लागि एक दिनमा ५०० मिटरभन्दा बढी उचाइ पार नगर्नु नै उपयुक्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया