काठमाडौं । लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डमा यातायात अवरुद्ध वा जोखिमपूर्ण अवस्थामा छन् ।
कोशी प्रदेशमा मेची राजमार्गको इलाम राजदुवाली खण्ड पूर्ण रूपमा बन्द भएको छ । त्यहाँ वैकल्पिक बाटोबाट यात्रा गर्न सकिने प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्गको खोटाङ माम्खा खण्ड पहिरोका कारण बन्द छ भने भोजपुरको बोखिममा बाढीका कारण एकतर्फी रूपमा मात्र सवारी चलिरहेको छ ।
बागमती प्रदेशमा सबैभन्दा धेरै सडक प्रभावित भएका छन्। बीपी राजमार्गमा बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित जिरोकिलो र कोदारी खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ ।
यस्तै, कान्ति लोकपथमा पनि रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ । रसुवाको पासाङ ल्हामु राजमार्ग भने पहिरो भए पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
गण्डकी प्रदेशमा कालीगण्डकी करिडोरको बागलुङ बेलबगर खण्ड पहिरोका कारण बन्द भएको छ । सुदूरपश्चिममा महाकाली राजमार्गको दार्चुला पनेबाँज र ऐरिछिना क्षेत्रमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको छ ।
प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया