शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता

लोकपथ
420
Shares

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।

तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो ।

सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।

त्यसैगरी शुक्लाफाँटाभित्र भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेका १४ जना महिलाको समूह भने सम्पर्कविहीन रहेको छ । रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको छ ।

बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिलाहरू च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?