सवारी चालक अनुमतिपत्रका लागि इजाजतप्राप्त चिकित्सकलाई मान्यता दिन आग्रह

लोकपथ
56
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षण प्रक्रियालाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्न पहल थालेको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईले गत असार ३२ गते जारी गरेको परिपत्रमार्फत यस्तो आग्रह गरेका हुन् ।

परिपत्रमा हालको स्वास्थ्य परीक्षण व्यवस्थाका कारण सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या भोग्नुपरेको उल्लेख गरिएको छ । सेवा प्रवाहलाई सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन नेपाल मेडिकल काउन्सिलमा दर्ता तथा इजाजत प्राप्त चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिनुपर्ने विभागको भनाइ छ ।

विभागले यस्तो व्यवस्था लागू गर्दा स्वास्थ्य परीक्षण प्रक्रियामा पारदर्शिता र एकरूपता कायम हुने अपेक्षा गरेको छ । साथै, चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियामा सेवाग्राहीको समय र खर्च दुवै घट्ने विश्वास गरिएको छ ।

यसैबीच, यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरूको विवरण माग गरेको छ । विभागले यही साउन १ गते काउन्सिललाई पत्राचार गर्दै स्वास्थ्य परीक्षण प्रमाणपत्र जारी गर्न सक्ने चिकित्सकहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

विभागले प्राप्त विवरणका आधारमा स्वास्थ्य परीक्षण प्रक्रियालाई व्यवस्थित गर्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?