बाढी-पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, धेरै जिल्लामा सवारी सञ्चालन रोक

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो तथा सम्भावित उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

केही सडकमा बाढी र पहिरोले यातायात पूर्ण रूपमा ठप्प भएको छ भने जोखिमलाई मध्यनजर गर्दै केही स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मकवानपुरस्थित कान्ति लोकपथ, इलामको मेची राजमार्ग, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडकखण्ड, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेशी सडकखण्ड तथा रोल्पाको रुकुम–घोराही सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

यस्तै, कोसी प्रदेशका इलाम, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बु जिल्लाका विभिन्न सडकमा सम्भावित जोखिमका कारण सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेश तथा अन्य केही प्रदेशका जिल्लामा पनि सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।

सरोकारवाला निकायले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?