काभ्रेमा बर्डफ्लु प्रकोप : ४० हजारभन्दा बढी हाँस र कुखुरा नष्ट

लोकपथ
0
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु सङ्क्रमण तीव्र रूपमा फैलिएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका अनुसार पछिल्ला केही हप्तादेखि कुखुरा मर्न थालेपछि व्यावसायिक पोल्ट्री फार्महरूमा रहेका ४० हजार ७२९ हाँस तथा कुखुरा नष्ट गरिएको हो ।

सङ्क्रमण विशेषगरी बनेपा नगरपालिका का वडा नं ६ र १३ तथा पनौती नगरपालिका का वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा देखिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

वरिष्ठ पशु चिकित्सक डा.बज्रकिशोर ठाकुरका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत रोग थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

उनले सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र ओसारपसार नियन्त्रणका काम तीव्र पारिएको जानकारी दिए । साथै व्यावसायिक फार्ममा बायोसेक्युरिटी मापदण्ड कडाइका साथ लागू गर्न, अनावश्यक प्रवेश रोक्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

त्यस्तै रोशी गाउँपालिका, नाला र खावा चेकपोस्ट क्षेत्रमा परीक्षणबिना तथा अवैध रूपमा हुने कुखुरा ओसारपसारमा निगरानी र नियन्त्रण कडाइ गरिएको छ ।

यसअघि चैत महिनामा पनि काभ्रे र छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बर्डफ्लु जोखिम बढेपछि उच्च सतर्कता अपनाइएको थियो। अहिले देखिएको नयाँ प्रकोपसँगै जिल्लामा थप कडा नियन्त्रण उपायहरू लागू गर्न थालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?