काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० ले आफ्नो वडा क्षेत्रका ७० वर्ष उमेर पूरा गरेका करिब २०० जना ज्येष्ठ नागरिकलाई पदयात्राका लागि उपयोगी लौरो र छाता वितरण गरेको छ ।
ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा कार्यालयले ७० वर्ष नाघेका स्थानीय अग्रज तथा पूर्व जनप्रतिनिधिलाई पनि विशेष सम्मान गरेको हो ।
कार्यक्रममा वडाका पूर्व जनप्रतिनिधि खोपप्रसाद पाण्डे, कालिबहादुर तिवारी र खोपराज पाण्डेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । साथै १०४ वर्षीया तुलमाया गजुरेललाई लामो जीवनयात्रा र समाजमा पुर्याएको प्रेरणादायी योगदानको कदर गर्दै दोसल्ला ओढाएर विशेष सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १० का अध्यक्ष प्रलाद थपलियाले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका धरोहर भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र संरक्षणमा वडा कार्यालय सधैं प्रतिबद्ध रहने बताए ।
उनले ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न तथा आवश्यक सहयोग उपलब्ध गराउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
वडा कार्यालयका अनुसार ज्येष्ठ नागरिकप्रति सम्मानको भावना अभिवृद्धि गर्दै उनीहरूको दैनिकीलाई सहज र सुरक्षित बनाउन लौरो तथा छाता वितरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया