काठमाडौं । युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन् । जलवायु परिवर्तनका कारण महाद्वीपभर चरम तापक्रमको नयाँ चरण सुरु भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
बढ्दो तापक्रमका कारण स्वास्थ्य सेवा, यातायात तथा अग्नि नियन्त्रण सेवामा ठूलो चाप परेको छ । विभिन्न देशका सरकारी निकायहरूले नागरिकलाई गर्मीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।
फ्रान्समा गत जुन २४ मा सन् १९४७ यताकै सबैभन्दा तातो दिन रेकर्ड भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ भने विशेषगरी सडकमा बसोबास गर्ने असहाय व्यक्तिहरू बढी प्रभावित भएका छन् ।
जर्मनीमा पनि गर्मीका कारण स्वास्थ्य समस्या बढ्दै गएको छ । अस्पतालका आकस्मिक कक्षमा ‘हिट स्ट्रोक’ भएका वृद्धवृद्धाको चाप बढेको छ । लामो समयसम्मको उच्च तापक्रमका कारण ‘ए२’ मोटरमार्गका केही पुराना खण्डसमेत तातेर क्षतिग्रस्त भएका छन् ।
इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, टुरिन, फ्लोरेन्स, बोलोग्ना, भेनिस र भेरोनासहित १८ सहरमा ‘रेड अलर्ट’ जारी गरेको छ । मध्य र उत्तरी इटालीमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
उता स्पेनमा पनि यस वर्षको जुन महिनाले नयाँ तापक्रम रेकर्ड कायम गरेको छ । स्पेनको मौसम विज्ञान एजेन्सीका अनुसार सन् १९५० यताकै उच्च औसत जुन तापक्रम यस वर्ष मापन गरिएको हो ।
देशभर रहेका ८२८ मौसम केन्द्रमध्ये १०० भन्दा बढी केन्द्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड भएको छ, जसले दक्षिणदेखि उत्तरसम्मका अधिकांश क्षेत्र प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया