जाजरकोट भूकम्पपीडितको पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग सांसद रोकायाको माग

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लामा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भूकम्प गएको यतिका समय बितिसक्दा पनि जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित परिवारका लागि पुनर्निर्माण सुरु हुन नसक्नु अत्यन्त दुःखद् भएको बताए ।

सांसद रोकायाले आगामी आर्थिक वर्षको बजेटमा समेत भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन नगरिएको भन्दै सरकारप्रति आपत्ति जनाए । पुनर्निर्माणका लागि करिब २२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिए पनि त्यसअनुसार स्रोत सुनिश्चित नभएको उनको भनाइ थियो ।

उनका अनुसार हाल विपद् व्यवस्थापन कोषमा करिब २ करोड ७० लाख रुपैयाँ मात्रै मौज्दात छ । अर्थमन्त्रीले पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गरिएको बताए पनि बजेटमा त्यसको स्पष्ट व्यवस्था नदेखिएको उनले बताए ।

रोकायाले रुकुमपश्चिममा मात्रै विस्तृत क्षति आकलन (डीडीए) पछि करिब १९ हजार लाभग्राही कायम भएको जानकारी दिँदै जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रभावित जिल्लाहरूको विस्तृत क्षति आकलन (डीडीए) सम्पन्न भई स्थानीय वडाबाट विवरणसमेत पठाइसकिएको अवस्थामा पनि पुनर्निर्माणले गति लिन नसकेको भन्दै ढिलाइ नगरी प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?