‘स्रोत, साधनको अभावले अपेक्षित नतिजा हात पार्न सकेनौँ’

लोकपथ
35
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रोत, साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् ।

लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरीको विभिन्न विभागहरु थप्ने काम भएपनि त्यसलाई साधन, स्रोतले सम्पन्न बनाउने र त्यहाँ कार्यरत जनशक्तिहरुलाई सीपमूलक तालिम दिनुपर्ने कुरातर्फ सरकारको ध्यानाकर्षण समेत गराएका हुन् ।

हामीले स्थापना गरिसकेका फिल्डमा काम गर्ने युनिटहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने र त्यहाँ कार्यरत जनशक्तिहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्न नसक्दा उनीहरुबाट अपेक्षित नतिजा हासिल गर्न नसकिने अवस्था रहेको उनको भनाई थियो ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरी सुरक्षित, स्वस्थ र लागू औषधरहित समाज निर्माणमासदैव प्रतिवद्ध रही आएको पनि बताए ।

उनले लागुऔषध नियन्त्रणमा तीन वटै प्रमुख स्तम्भहरु रोकथाम, नियन्त्रण र पुनस्थापनाको क्षेत्रमा निरन्तर सक्रियता, सतर्कता र प्रतिवद्धता प्रहरीहरुको क्रियाकलापले प्रतिविम्वित गरेको उल्लेख गर्दै त्यसलाई आगामी दिन अझै बढी सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कार्कीले भने,‘नेपाल प्रहरीको लागुऔषध नियन्त्रणमा तीन वटै प्रमुख स्तम्भहरु एउटा रोकथामको स्तम्भ, अर्को नियन्त्रण र पुनस्थापनाको क्षेत्रमा निरन्तर सक्रियता, सतर्कता र प्रतिवद्धतालाई हाम्रा क्रियाकलापहरुले प्रतिविम्वित गरेका छन् । सुरक्षित, स्वस्थ र लागू औषधरहित समाज निर्माणमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रही आएको छ । र आगामी दिनमा समेत यसको सक्रियता अझ बढदै जानेछ । हामीले स्थापना गरिसकेका फिल्डमा काम गर्ने युनिटहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्दछ । र उनीहरुलाई सीपमूलक तालिम पनि दिनुपर्दछ । हामीले संस्था चाँही खोल्दै जाने तर सीपमूलक तालिमको अभाव हुनु, साधन स्रोतका अभाव हुने कुराले हामीले अपेक्षित रिजल्ट प्राप्त गर्न सक्दैनौ कि भन्नेतर्फ पनि हामीले हेर्नुपर्ने कुरातर्फ पनि मैले निवेदन गर्दछु । लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारीसहितको सहभागिता प्रवद्र्धनमा केन्द्र, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायहरुबीच निरन्तरको साथ, सहयोग, सहकार्य, अपरिहार्य रहेको व्यहोरा अनुरोध गर्दछु ।’

त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीले लागुऔषधमा फसेकाहरुलाई उपचारसहितको सुधारका लागि पोखरामा पनि पुनःस्थापना केन्द्र स्थापना गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?