काठमाडौं । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम अन्तरमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने चार हजार ३०० भन्दा बढी घाइते भएका छन् ।
भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशंका गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलामा व्यापक क्षति पुर्याएका छन् । भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् भने बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।
स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको संख्या २३५ पुगेको पुष्टि गरेका छन् । उनका अनुसार घाइतेको संख्या निरन्तर बढिरहेको छ र धेरैको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यमा उद्धारकर्मी र स्थानीय बासिन्दा भग्नावशेष हटाएर जीवित व्यक्तिको खोजीमा जुटेका छन् । तर पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभावका कारण उद्धार अभियान प्रभावित भएको जनाइएको छ ।
काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौंसम्म भग्नावशेषमुनि फसेर सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले तत्काल उद्धार टोली र सुरक्षाकर्मी आवश्यक रहेको बताएका थिए । तर उद्धार हुनुअघि नै ती युवतीको मृत्यु भएको स्थानीयले बताएका छन् ।
ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताए । एक उद्धारकर्मीले प्रशिक्षित जनशक्ति र आधुनिक उपकरणको अभावले उद्धार अभियानमा कठिनाइ भइरहेको बताएका छन् ।
सरकारले प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरेको छ । अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको स्थलगत निरीक्षण गरेका छन् ।
यसबीच केही क्षेत्रमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलमा लुटपाटसमेत भएको एएफपीले जनाएको छ । भेनेजुएलाको अन्तर्राष्ट्रिय उद्धार समितिकी निर्देशक निकोल कास्टले अवस्थालाई अत्यन्त विनाशकारी रहेको बताएकी छन् ।
भूकम्पपछि विश्वका विभिन्न देशले राहत तथा उद्धार सहयोगको घोषणा गरेका छन् । स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ तथा उद्धार टोली पठाउने जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान, हेलिकप्टर तथा १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशको प्रतिक्रिया तीव्र, प्रभावकारी र व्यापक हुने बताएका छन् ।
जनवरीमा अमेरिकी सेनाको हस्तक्षेपपछि राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी पक्राउ गरिएसँगै भेनेजुएलामा वासिङ्टनको प्रभाव बढेको छ ।
चीन, भारत, ब्राजिल र इरानले पनि सहयोगको प्रस्ताव गरेका छन्। पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुएलाको सहयोगमा जुट्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता प्रमुख टम फ्लेचरले १२६ वर्षयताकै शक्तिशाली भूकम्पका कारण व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् ।
उद्धार र राहत कार्यलाई थप जटिल बनाउँदै ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि विमानस्थल बन्द गरिएको छ ।
मृतकमध्ये दुई ब्राजिलियाली, दुई चिनियाँ, एक इटालेली र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् ।
क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा रहेको भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । सन् १९९७ को भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ मा २३६ जनाले ज्यान गुमाएका थिए । सन् १९०० मा आएको ७।७ म्याग्निच्युडको भूकम्पपछि अहिलेको ७।५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।
भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस भएको थियो । राजधानी बोगोटाका बासिन्दाले सावधानीस्वरूप भवन खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ ।
राजधानी काराकासमा त्रासको वातावरण कायम छ। धेरै नागरिकले सडक र सवारीसाधनमै रात बिताएका छन् । ६० वर्षीया रिटा गोमेजले आफ्नी छोरी बस्ने भवन ढलेको सामाजिक सञ्जालमार्फत थाहा पाएपछि राजधानी पुगेकी थिइन् ।
उनले उद्धारका लागि भारी उपकरण परिचालन गरिएको र स्थानीय बासिन्दाले उल्लेखनीय सहयोग गरिरहेको बताउँदै आफ्नी छोरी जीवितै भेटिने आशा अझै कायम रहेको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया