नारायणी नदीमा हाम फालेका वृद्धको सशस्त्रद्वारा सकुशल उद्धार 

लोकपथ
70
Shares

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेल आज असार ४ गते बिहान उक्त नदीमा हाम फालेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धारपश्चात् उनलाई उपचारका लागि चितवन अस्पतालतर्फ पठाएको छ । उनको अवस्था भने सामान्य रहेको छ । 

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका एक जनाको असार ४ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ वर्षीय सञ्जीव विकलाई उक्त नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बिच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा उद्धार गरेको हो । उद्धारपश्चात् उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?