काठमाडौं। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा निर्माण गरेको बाँध मर्मतको नाममा झन् अग्लो र बलियो बनाइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सीमावर्ती क्षेत्रमा हुने कुनै पनि भौतिक संरचना निर्माण वा परिवर्तन दुवै देशको सहमतिबिना गर्न नपाइने नियम भए पनि त्यसको उल्लङ्घन भएको स्थानीयको आरोप छ ।
स्थानीयवासीका अनुसार भारतले आफ्नो भूमि डुबानबाट जोगाउन बैरगनिया क्षेत्रमा करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो रिङ बाँध निर्माण गरेपछि वर्षायाममा नेपालतर्फ पानीको बहाव रोकिँदै आएको छ । यसले रौतहटको सदरमुकाम गौरसहित आसपासका गाउँहरू बारम्बार डुबानमा पर्ने गरेका छन् ।
स्थानीय अमित केशरीका अनुसार बाँधको पूर्वी भागका सुलीसगेट (पानी निकास ढोका) बन्द गरिँदा वर्षेनी बाढीको पानी निकास नपाएर नेपाली बस्तीमा पस्ने गरेको छ । भारततर्फको संरचनाका कारण लालबकैया र बागमती नदीको पानी ‘ब्याक’ भएर डुबान हुने अवस्था सिर्जना भएको उनले बताए ।
नेपाल पत्रकार महासङ्घ रौतहटका सचिव गौतम श्रेष्ठका अनुसार बाँध उचाइ बढाइँदा पानीको प्राकृतिक निकास अवरुद्ध भई गौर नगर क्षेत्र बढी प्रभावित भइरहेको छ । उनका अनुसार निकास नखोलिँदा ठूलो धनजन र बालीनालीको क्षति हुने गरेको छ ।
स्थानीय पूर्व जनप्रतिनिधिहरूले पनि सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा संरचना विस्तार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारत सीमासम्बन्धी सहमतिअनुसार दशगजा नजिक दुवै देशको सहमतिबिना कुनै संरचना निर्माण गर्न नपाइने व्यवस्था भए पनि त्यसको पालना नभएको बताए ।
यसअघि माटो थप्ने कार्य रोकिएको भए पनि हाल फेरि बाँध मर्मतका नाममा उचाइ र चौडाइ बढाइएको स्थानीयको दाबी छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षीसँग बाँधमा भइरहेको माटो थप्ने कामबारे ध्यानाकर्षण गराइएको जानकारी दिए । भारतीय पक्षले भने केन्द्र सरकारको निर्देशनअनुसार बाँध मर्मत भइरहेको बताएको उनले उल्लेख गरे ।
सीमा क्षेत्रमा एकतर्फी संरचना निर्माण र पानी निकास बन्द हुँदा गौर नगरपालिका तथा इशनाथ र राजदेवी नगरपालिकाका दर्जनौँ बस्ती वर्षेनी डुबानमा पर्ने गरेका छन् । स्थानीय तहका अनुसार यसबाट हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको क्षति हुँदै आएको छ ।
सम्बन्धित विषय अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनसँग जोडिएको भन्दै स्थायी समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको स्थानीय तथा पूर्व जनप्रतिनिधिहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया