अब नियन्त्रित क्षेत्रमा भ्रमण गर्नुअघि विदेशी नागरिकले विभागबाट अनुमति लिनुपर्ने

लोकपथ
112
Shares

काठमाडौं । अब नेपालको नियन्त्रित क्षेत्रमा घुम्न जान चाहने विदेशी नागरिकले पहिले नै विशेष अनुमति लिनुपर्ने व्यवस्था ल्याइने भएको छ ।

गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुन संशोधन गर्दै यस्तो प्रावधान समेटिएको विधेयकको मस्यौदा तयार गरेको हो ।

प्रस्तावित व्यवस्थाअनुसार नेपाल सरकारले देशको सुरक्षा, भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताको संरक्षणका लागि कुनै क्षेत्रलाई ‘नियन्त्रित क्षेत्र’ घोषणा गर्न सक्नेछ ।

नियन्त्रित क्षेत्र घोषणा गरिएका स्थानमा जानुअघि विदेशी नागरिकले अध्यागमन विभागबाट भ्रमण अनुमति लिनुपर्नेछ । अनुमति प्राप्त गर्न सामान्यतया ट्राभल वा ट्रेकिङ एजेन्सीमार्फत आवेदन दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

तर कूटनीतिक भिसा भएका व्यक्ति, गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्र प्राप्त व्यक्तिहरूलाई एजेन्सीमार्फत अनुमति लिन अनिवार्य हुने छैन ।

यस्तै, नेपाल सरकारसँगको सम्झौताअनुसार काम गरिरहेका व्यक्ति, मन्त्रालयको स्वीकृतिमा अध्ययन–अनुसन्धान वा आयोजना सर्वेक्षण गर्न जानेहरू तथा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशीलाई पनि छुट्टै भ्रमण अनुमति आवश्यक नपर्ने प्रस्ताव गरिएको छ ।

विधेयकमा ‘भ्रमण अनुमति’ भन्नाले नियन्त्रित क्षेत्रमा पैदल वा अन्य सवारी साधनमार्फत गरिने अवलोकन, घुमफिर, भ्रमण वा यात्राको अनुमति बुझिने उल्लेख छ ।

नियन्त्रित क्षेत्रमा प्रवेश गर्दा अनुमति पत्रमा उल्लेख गरिएका सर्त तथा तोकिएको पदमार्ग पालना गर्नुपर्नेछ। नियम उल्लंघन गरेमा सम्बन्धित व्यक्तिको भ्रमण अनुमति रद्द गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?