कर्णाली करिडोरमाथिबाट खसेको ढुंगाले लागेर किशोरीको मृत्यु

लोकपथ
70
Shares

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली करिडोरमाथिबाट खसेको ढुंगा लागेर एक किशोरीको मृत्यु भएको छ ।

सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउदको शुक्रबार बिहान ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार पवित्रा बिहान गाईगोरु चराउन थाग्णा क्षेत्रको जंगलमा गएकी थिइन् । बिहान करिब १०ः३० बजे कर्णाली करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुंगा लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

घटनाको जानकारी बिहान ११ः५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हवल्दार गोबद्र्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को टोली पनि घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुंगा खस्ने जोखिम रहने गरेको छ । पछिल्लो घटनाले सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीयवासी र यात्रुको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउनुपर्ने आवश्यकता पुनः औँल्याएको छ ।

स्थानीयवासीले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?