सुर्खेतको थुनुवाकक्षमा रहेका २१ वर्षीय युवकको मृत्यु, आफन्तद्वारा कुटपिटको आशंका

लोकपथ
49
Shares

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा रहेका एक युवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरी मुद्दामा पक्राउ परेका बक्सलाई २७ गते नियन्त्रणमा लिइएको थियो । बुधबार म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको अवस्थामा आज बिहान उनी अचेत अवस्थामा फेला परेका हुन् ।

बिहान करिब ४:३० बजे अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । तर अस्पतालले बिहान ५:३२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले भने घटनालाई शंकास्पद भन्दै कुटपिटका कारण मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले पक्राउपछि कुनै समस्या नभएको व्यक्तिको थुनुवाकक्षमै मृत्यु हुनु गम्भीर विषय भएको बताएका छन् ।

प्रहरीले भने मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?