भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ

लोकपथ
56
Shares

पोखरा । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र यतिबेला अत्यन्तै चलायमान बनेको छ । वर्षायामलाई सामान्यतः ‘अफसिजन’ मानिने भए पनि यस वर्ष पोखरामा भारतीय पर्यटकको भीड बढ्दा होटल, रेष्टुरेन्ट, डुङ्गा व्यवसाय तथा ट्रेकिङ क्षेत्र उत्साहित बनेका छन् ।

लेकसाइड क्षेत्रदेखि फेवाताल, अन्नपूर्ण पदमार्ग र मुक्तिनाथसम्म भारतीय पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ । फेवा डुङ्गा व्यवसायी समितिका अनुसार हाल फेवातालका आठवटै स्टेशनबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुङ्गा सयर गरिरहेका छन् । तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो हुँदा व्यवसायीहरूले आर्थिक राहत महसुस गरेका छन् ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबिसी) तथा उपल्लो मुस्ताङ क्षेत्रमा भारतीय युवाहरूको आकर्षण बढ्दो छ । पदयात्रा मार्गहरूमा पर्यटकको चाप यति धेरै रहेको छ कि अफसिजनमा समेत बास बस्न कोठा पाउन कठिन हुन थालेको उनले बताए ।

धार्मिक पर्यटन पनि उत्तिकै फस्टाएको छ। हिन्दु धर्मावलम्बी भारतीय पर्यटकहरू पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि ठूलो संख्यामा नेपाल आइरहेका छन् । धार्मिक आस्था, सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसार तथा भारतमा बढ्दो गर्मीका कारण नेपाल भारतीयहरूको रोजाइको गन्तव्य बनेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले विगत ३२ वर्षको पर्यटन अनुभवमा यस वर्षजति धेरै भारतीय पर्यटक पहिलो पटक देखिएको बताए । उनका अनुसार नेपाली नयाँ वर्षदेखि जेठ महिनाको अन्त्यसम्म पोखराका अधिकांश होटलको अकुपेन्सी दर करिब ९० प्रतिशत पुगेको थियो ।

‘सामाजिक सञ्जालमा मुक्तिनाथ, पोखरा तथा अन्य पर्यटकीय गन्तव्यहरूको व्यापक प्रचारले भारतीय पर्यटकमा नेपाल भ्रमणप्रतिको आकर्षण बढाएको छ,‘ अध्यक्ष सुवेदीले भने।

भारतका विभिन्न सहरमा तापक्रम ४४–४५ डिग्री सेल्सियससम्म पुग्दा शीतल मौसम, हिमाली दृश्य र प्राकृतिक सौन्दर्यको अनुभव लिन भारतीयहरू नेपाल आउन थालेका हुन् । विशेषगरी बिहारलगायत सीमावर्ती राज्यका नागरिकहरू छोटो समयमै नेपाल प्रवेश गर्न सक्ने भएकाले नेपालप्रति आकर्षित भएका छन् ।

पर्यटकको संख्या बढेसँगै केही व्यवस्थापकीय चुनौती पनि देखिएका छन् । लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन कठिन बन्दै गएको छ भने ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ । साथै, बसमार्फत सामूहिक रूपमा आउने केही पर्यटकले सडक किनारमै खाना पकाउने तथा खानपान गर्ने प्रवृत्तिका कारण सरसफाइ र सौन्दर्यमा असर परेको सरोकारवालाहरूले बताएका छन् ।

टान गण्डकीका अध्यक्ष आचार्यले प्रमुख धार्मिक तथा पर्यटकीय मार्गहरूमा विश्राम केन्द्र निर्माण गरी पर्यटक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।

पर्यटन व्यवसायीहरूका अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, सहज यातायात, सामाजिक सञ्जालको प्रभाव तथा भारतको अत्यधिक गर्मीका कारण नेपाल अहिले भारतीय पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । भारतीय पर्यटकको यो बढ्दो आगमनले पोखरासहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा र आशा थपेको व्यवसायीहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?