काठमाडौं । हिमालयन रि–इन्सुरेन्स घोटाला प्रकरणमा हिमालयन रि इन्सुरेन्स कम्पनी, हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लगायतलाई नोक्सानी पुर्याएपछि क्षतिपूर्तिको माग दाबीसमेत लिई बिहीबार अदालतमा मुद्दा दायर भएको छ । विवादित व्यवसायी दीपक भट्ट, व्यवसायीहरु सुलभ अग्रवाल, शेखर गोल्छासहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा ८१ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरू दीपक भट्ट लगायतले एक आपसमा मिली निश्चित समूहलाई मात्र फाइदा हुने गरी योजनाबद्ध रूपमा संगठित भई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पब्लिक कम्पनीहरुलाई हानी नोक्सानी पुर्याएको कसुरमा मुद्दा दायर गरिएको हो । पब्लिक कम्पनीमा सर्वसाधारणको लगानी रहेको र स्वार्थ समूह हाबी हुँदा सर्वसाधारणको लगानी जोखिममा पारिएको अभियोग पत्रमा उल्लेख छ । जसअनुसार विभिन्न कम्पनीमार्फत भएका घोटालाबाट पर्न गएको हानी समेत प्रतिवादीबाटै भराउन समेत मागदाबी लिइएको छ ।
अभियोग पत्र अनुसार हिमालयन रि-इन्स्योरेन्सले शेयर खरिद बिक्री गर्दा हानी नोक्सानी भएको ७२ करोड १४ लाख ७७ हजार ९ सय ७६ रुपैयाँ बराबरको रकम क्षतिपूर्ति भराउन माग गरिएको छ । हानी नोक्सानी पुर्याउने प्रतिवादीहरूमा शेखर गोल्छा, शाहिल अग्रवाल, रोहित गुप्ता, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल लगायतका व्यक्तिहरू रहेका छन् । त्यस्तै हानी नोक्सानी पुर्याउने दोस्रो पक्षमा हिमालयन क्यापसर्भ (बिक्रीकर्ता), हिमालयन सेक्यूरिटिज बैंकर, सुभी अग्रवाल (बिक्रीकर्ता), गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।
त्यस्तै दीपक भट्ट लगायतको बदमासीको चपेटामा परेको अर्को संस्था हो, हिमालयन लाइफ इन्स्योरेन्स । हिमालयन लाइफ इन्स्योरेन्सले शेयर खरिद बिक्री गर्दा हानी नोक्सानी भएको ४ करोड ५० लाख ३३ हजार एकसट्ठी रुपैयाँ ९ पैसा समेत प्रतिवादीहरूबाट क्षतिपूर्ति भराउन मागदाबी लिइएको छ ।
यता हिमालय सेक्युरिटिजले शेयर खरिद बिक्री गर्दा हानी नोक्सानी भएको क्षतिपूर्ति बापत ५० लाख २२ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति भराउन मागदाबी लिइएको छ ।
हिमालयन इन्भेस्टमेन्ट बैंकरले शेयर खरिद बिक्री गर्दा हानी नोक्सानी भएको ८५ लाख ३५ हजार ७ सय ६६ रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको छ । यसै गरी हिमालयन क्यापसर्भले शेयर खरिद बिक्री गर्दा नोक्सानी भएको ३८ लाख ७० हजार ६ सय २० रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको छ ।
यता एचएलआई लार्ज क्याप फण्डले शेयर खरिद बिक्री गर्दा हानी नोक्सानी भएको रकम २१ करोड ४० लाख ५६ हजार ५ सय ३२ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ । नेपाल माइक्रो इन्स्योरेन्सले शेयर खरिद बिक्री गर्दा हानी नोक्सानी भएको ४ करोड ६२ लाख ८ हजार २२ रुपैयाँ क्षतिपूर्ति भराउन भनिएको छ ।
यता लिबर्टी माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको क्रमशः ९९ लाख ४ सय ४५ रुपैयाँ र २ करोड ७८ लाख ९६ हजार ३ सय ७६ रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ ।
यता प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई क्रमशः १ करोड ७७ लाख १६ हजार ३ सय ७९ र ४ करोड ११ लाख ५२ हजार २ सय ५६ रुपैयाँ बराबर क्षतिपूर्ति भराउन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया