काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दाको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’ राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधिश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ नसकिएपछि बिहीबार पनि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
बुधबार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त मुद्दामा बिहीबार सरकारी वकीलको बहस सकिएको छ ।
सरकारी वकीलको तर्फबाट जिल्ला न्यायाधिवक्ता हरि बहादुर पुन र सहायक जिल्ला न्यायाधिवक्ता छविलाल चालिसेले बहस गरे । हिजो सहायक जिल्ला न्यायाधिवक्ता रोशन सुनारले सुरूवाती बहस गरेका थिए । अब जाहेरवालाका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।
उक्त मुद्दाको सुनुवाइ सकिन अझै कम्तिमा एक साता लाग्ने अनुमान गरिएको छ ।
२०८० जेठ १० गते ३० जना व्यक्तिलाई प्रतिवादी बनाएर दायर भएको यस मुद्दामा पछि दुईवटा पूरक मुद्दासमेत दर्ता भइसकेको छ । पछि बेचन झाविरुद्ध समेत मुद्दा दर्ता भएकामा हालसम्म ७४ पटक उक्त मेद्दा पेसीमा चढिसकेको छ ।
३ वर्ष पूरा भएपछि बल्ल उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो । नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारमै रहेका र सरकार बाहिर रहेका गिरोहले प्रतिव्यक्ति ६० लाख रुपैयाँसम्म उठाएर ठगी गरेका थिए ।
भुटानी शरणार्थी बनाएर उनीहरुलाई नक्कली कागजात बनाई अमेरिका पठाउने भन्दै करोडौं रकम उठाइएको थियो । तर उनीहरुलाई अमेरिका पठाउन नसकेपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेक नारायण पाण्डे, एमाले नेता टोप बहादुर रायमाझी, एमाले नेता राम बहादुर थापा बादलका छोरा प्रतीक थापा लगायतका व्यक्तिहरुको संलग्नता पाइएको थियो । सोही आधारमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया