काठमाडौं । बुद्ध एयरले अवकाश प्राप्त ATR-72 (MSN-535) विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
विमानको फ्युजलेज, विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्ध गर्न उपयोगी हुनसक्छ ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्यका प्रमुख उपरथी अनुप जंग थापालाई हस्तान्तरण गरेका हुन् ।
उक्त विमानले ७० हजार साईकल पुरा गरेपछि केही महिना अघि नै बुद्ध एयरले यसलाई उडान सेवाबाट अवकाश दिएको थियो ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतले खुसी व्यक्त गरे । उनले नेपाली सेनाले विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय हितका हरेक जिम्मेवारीमा निरन्तर खटिँदै आएको उल्लेख गर्दै, यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु आफूहरुका लागि खुसीको क्षण रहेको बताए ।
बस्नेतले हस्तान्तरण गरिएको विमानको फ्युजलेज, विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्ध गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो फ्युजलेज नेपाली सेनाले विमानस्थल आपतकालीन योजना (AEP) अन्तर्गत विभिन्न सतर्कता स्तरका (Alert Level) प्रशिक्षणमा प्रभावकारी रुपमा प्रयोग गर्न सकिनेछ ।

यसैगरी हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बद्ध एयरले प्रदान गरेको फ्युजलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका थ्रेट सामना गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सुरक्षा सहकार्य गर्दै आएको उल्लेख गर्दै यस कार्यलाई उदाहरणीय पहलका रुपमा प्रशंसा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया