विपक्षीको विरोधपछि आज पनि सर्‍यो संसद बैठक

लोकपथ
84
Shares

काठमाडौं । विपक्षीहरुको विरोधपछि मंगलबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।

विपक्षीहरुले पूर्ववर्ती मागहरु राख्दै आजको बैठकमा अवरोध गरेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो ।

सभामुख डोलप्रसाद अर्यालले जेठ २७ गते बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेको जानकारी गराए ।

विपक्षीहरुले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिनुपर्ने अडान कायम राखिरहेका छन् ।

यसअघि गत जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सीमा सम्बन्धी विवादित अभिव्यक्ति दिएका थिए । बालेनले भारतले मात्र नभइ नेपालले पनि विभिन्न स्थानमा भारतको जग्गा मिचेको बताएका थिए ।

त्यसयताका बैठकहरुमा विपक्षी दलहरुले निरन्तर विरोध जनाउँदै आइरहेका छन् ।

जेठ १८ गते बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध जनाएपछि जेठ १९ गतेका लागि बैठक सारिएको थियो । जेठ १९ गतेको बैठकमा समेत प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै विपक्षीहरुले जवाफ माग गरेका थिए । तर त्यसदिन पनि निरन्तर संसदमा अवरोध भएपछि जेठ २५ गते सोमबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । हिजो बसेको बैठकमा समेत विपक्षीहरुले विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

यता विपक्षीहरुले निरन्तर संसदमा अवरोध सिर्जना गरे पनि सत्ता पक्षले भने प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने कुनै पहल गरेको छैन । सोमबार प्रधानमन्त्रीको दल रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा सो विषय उठेको थियो । तर सभापति लामिछानेले भने प्रधानमन्त्री बालेनले संसदमा जवाफ नदिने बरु परराष्ट्रमन्त्री वा आफूले जवाफ दिने जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?