मैले बाँदर मारेको होइन, जनतालाई सहयोग गरेको हुँ : सांसद ध्रुवराज राई

लोकपथ
49
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

सोमबार संसद भवन परिसरमा कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरे ।

यसअघि उनले ६ सय बाँदर मारेको अभिव्यक्ति दिएपछि विवादमा परेका थिए । त्यसबारे खण्डन गर्दै उनले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा सहयोग गरेको स्वीकार गरे ।

पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति लक्षित गर्दै उनले व्यवहारिक समस्या बुझ्न आग्रह गरे ।

उनले भने, ‘मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ । ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ । लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ । किसानहरू धुरुधुरु रोइरहेका छन् । यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानून र एनजीओ–आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिनु हुँदैन ।’

सांसद राईले आफू कुनैपनि कानूनी कारबाही वा जेल जान नडराउने समेत स्पष्ट पारे ।

उनले विगतमा व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरीको भरमा नडराउने बताए । बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका मकैबारीमा गएर किसानको अवस्था बुझ्न उनले चुनौती समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?