काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने भएको छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्ने क्रममा उक्त पाँचतारेस्तरको लक्जरी रिसोर्टको व्यवस्थापनको जिम्मा लिएसँगै नयाँ नामबाट सञ्चालन हुन लागेको हो ।
होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका हुन् ।
सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँले सोल्टी होटल्स एण्ड रिसोर्ट्सले काठमाडौं उपत्यकामा मात्रै तीनवटा होटल सञ्चालन गरिरहेको जानकारी दिँदै नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा विश्वस्तरीय आतिथ्य सेवा विस्तार गर्दै लगिएको बताए । उनका अनुसार ‘द सोल्टी रिसोर्ट’ शिवपुरी सञ्चालनसँगै लक्जरी, प्रकृति र स्वास्थ्यलाई समेट्ने नयाँ आतिथ्य गन्तव्य थपिएको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको हरियाली वन क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’बाट काठमाडौं उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टले अतिथिलाई प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विलासितापूर्ण सुविधासहित विश्रामको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिअनुसार रिसोर्ट शान्त वातावरण, वन्यजन्तु तथा रमणीय वनजङ्गल परिवेशबीच अवस्थित रहेको छ । साँझपख काठमाडौं उपत्यकाको झिलिमिली दृश्यले अतिथिलाई विशेष अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला सञ्चालनमा छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन रहेका छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।
रिसोर्टमा ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’, ‘ऐराक बार’ तथा जङ्गल फायर बिबीक्यु टेरेस सञ्चालनमा रहेका छन् । यहाँ अतिथिले विभिन्न परिकार, ग्रिल्ड भोजन, बोनफायर तथा प्राकृतिक वातावरणको आनन्द लिन सक्नेछन् ।
यसका साथै रिसोर्टमा स्विमिङ पुल, स्पा, स्टिम, साउना, फिटनेस सेन्टर, हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता सुविधा उपलब्ध रहेका छन् ।
‘द सोल्टी रिसोर्ट’ शिवपुरीमा आधुनिक बैंक्वेट हल, दुई खुला लन र एम्फिथिएटर पनि रहेका छन् । विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा रिट्रिट आयोजना गर्न यी स्थल उपयुक्त हुने कम्पनीले जनाएको छ ।
सोल्टी होटल्स एण्ड रिसोर्ट्सले ‘द सोल्टी रिसोर्ट’ शिवपुरीमार्फत नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया