कैलाली । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै उनले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सङ्घीय संसद् र प्रदेशसभाबीच सहकार्य मजबुत हुनुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले तीन तहका सरकारबीच नबाझिने गरी कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै आफू समन्वय र सहकार्यमा प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु ।’
उनले लक्षित वर्गलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यान्वयन तहले कानुनबारे पछि मात्र थाहा पाउने अवस्थाले समस्या सिर्जना गरेको बताए । त्यसैले सरोकारवालासँग समन्वय गरेर मात्र कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
सभामुख अर्यालले सङ्घीयतामार्फत सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउने लक्ष्य भए पनि व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे । ‘जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पुर्याउन अझै सकेका छैनौँ,‘उनले भने ।
कार्यक्रम अन्तर व्यवस्थापिका मञ्चले आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया