काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा देखिएको औषधि अभाव तत्काल समाधान गर्न तथा आपूर्ति र व्यवस्थापन प्रणालीलाई सहज बनाउन निर्देशन दिएकी छन् ।
औषधि व्यवस्था विभागको अनुगमनपछि मन्त्री मेहताले विशेषगरी क्यान्सरलगायत जीवनरक्षक औषधिको अभाव हुन नदिन आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।
उनले औषधि आपूर्ति तथा वितरणको अनुमति माग गर्दै निवेदन पेस गरेका तर हालसम्म स्वीकृति नपाएका कम्पनीहरूको स्थलगत निरीक्षण गरी प्रक्रिया छिटो अघि बढाउन पनि निर्देशन दिइन् ।
मन्त्री मेहताले विभागको नियमन क्षमता अभिवृद्धिका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै तत्काल सुधार आवश्यक क्षेत्रका लागि स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह गरिन् ।
त्यस्तै, सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध हुने औषधिको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन पनि उनले सम्बद्ध पक्षलाई निर्देशन दिइन् ।
यसैबीच, औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागको हालको कामकारबाहीबारे मन्त्रीलाई जानकारी गराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया