काठमाडौं । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्र निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चानचुने उपलब्धि नभएको बताएका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनसम्बन्धी केन्द्रीय स्तरको समीक्षा कार्यशालाको उद्घाटन सत्रमा बोल्दै उनले निर्वाचन घोषणा भएपछि विभिन्न आशंका र चुनौतीबिच सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा आम नागरिकको सक्रिय सहभागितामा निर्वाचन सफल भएको स्पष्ट पारे ।
उनले भने, ‘विद्रोहपछि तोकिएको छ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन। यस निर्वाचनलाई विश्व समुदायले पनि सूक्ष्म रूपमा हेरिरहेको थियो। आयोगको एक्लै प्रयासले मात्र यो सम्भव भएको होइन ।’
आयुक्त भण्डारीले निर्वाचन प्रक्रियामा कसैलाई निषेध नगर्ने मान्यताअनुसार राजनीतिक संवादलाई प्राथमिकता दिइएको उल्लेख गर्दै सरकारको सहयोगमा पुराना, नयाँ तथा विद्रोही राजनीतिक समूहलाई एउटै टेबुलमा राखेर सहकार्य र समझदारी निर्माण गरिएको बताए ।
उनका अनुसार आन्दोलनपछि बिग्रिएको अनुशासनलाई पुनःस्थापित गर्न निर्वाचन नै उत्तम विकल्प भएकाले आयोगले चुनौतीका बिच निरन्तर काम गरेको थियो । साथै, उनले निर्वाचन मितव्ययी र तुलनात्मक रूपमा व्यवस्थित रूपमा सम्पन्न भएको दाबी गरे ।
कार्यक्रमको उद्घाटन तत्कालीन प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की ले गरेकी थिइन् । कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा लगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।
निर्वाचन आयोगका आयुक्त द्वय डा.जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा सहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, निर्वाचन पर्यवेक्षक, मतदान अधिकृत तथा स्वयंसेवकहरूको समेत सहभागिता रहेको थियो ।
समीक्षा कार्यशालाबाट प्राप्त सुझावका आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउने, मतदान केन्द्रलाई थप पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत वृद्धि गर्ने तथा कानुनी र संरचनागत सुधार गर्ने आयोगको योजना रहेको भण्डारीले जानकारी दिए ।
कार्यक्रममा निर्वाचन परिणाम पुस्तकको विद्युतीय प्रति समेत लोकार्पण गरिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया