काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत सञ्चालन हुने परियोजना तथा तीमार्फत आउने वित्तीय स्रोत दुवै उल्लेख्य रूपमा घट्दै गएको पाइएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालका अनुसार पछिल्लो चार वर्षयता त्यस्ता परियोजनाको संख्या करिब दुई तिहाईले घटेको छ भने बजेट पनि आधाभन्दा बढीले कमी आएको हो ।
ललितपुरमा बिहीबार आयोजित विकास बहससम्बन्धी कार्यक्रममा बोल्दै सचिव अर्यालले आर्थिक वर्ष २०७८र७९ मा ९८ वटा परियोजना र करिब ४० अर्ब रुपैयाँ स्रोत नेपालमा आएको तथ्य प्रस्तुत गरिन् । तर पछिल्ला वर्षहरूमा दुवै सूचक निरन्तर घट्दै गएको उनले बताइन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा पनि परियोजना संख्या र बजेट घट्ने प्रवृत्ति जारी रहने अनुमान छ । उनले सम्भावित कारणका रूपमा विश्वव्यापी आर्थिक संकट, नीतिगत परिवर्तन, नेपाल अल्पविकसित देश (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रिया तथा आन्तरिक नीतिगत वातावरणलाई उल्लेख गरिन् ।
सचिव अर्यालले भनिन्, ‘पछिल्ला केही वर्षको तथ्यांक हेर्दा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आउने स्रोत र परियोजना दुवै घटेको देखिन्छ‘ यसमा ग्लोबल इकोनोमिक क्राइसिस, नीति परिवर्तन र नेपाल एलडीसी ग्रयाजुएसन जस्ता कारण प्रभावकारी हुन सक्छन् ।
उनले गैरसरकारी संस्थाहरूको गतिविधिमाथि थप प्रभावकारी अनुगमन आवश्यक रहेको पनि जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया