जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट चोरिएको थियो हात्तीका दुई थान दाह्रा, काटेर लगाइएको थियो भागबन्डा

लोकपथ
119
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी गरिएका हात्तीका दुई थान दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

चोरी भएको करिब ९ महिनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा मंगलबार राति अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको नाम गोप्य राखेको छ । 

पक्राउ परेका व्यक्तिले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ–आफ्ना घरमा सजाएर राखेको पनि पाइएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दाह्रा चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए । 

चोरी भएका ती हात्तीका दाह्रा राष्ट्रपति कार्यालयको भित्तामा सजाएर राखिएको थियो ।  

नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालयसमेत जेनजी आन्दोलनका क्रममा निशानामा परेको थियो । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । त्यसबेला राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरू समेत जलाउने, भाँच्ने काम भएका थिए । यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?