काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला काठमाडौं र नयाँदिल्ली दुवैतिरका आवाज त्यति प्रिय नरहेको टिप्पणी गरेका छन् ।
आज बुधबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहो¥याउन अभिशप्त भइरहेको उल्लेख गर्दै रास्वपा सभापति लामिछाने यो दुष्चक्र तोड्न सफल रहून् भनी शुभकामना पनि दिएका छन् । ‘परन्तु यतिबेलै काठमाडौं र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन्,’ उनले लेखेका छन् ।
रास्वपा सभापति लामिछानेको द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरंग ल्याएको र त्यसमा आफ्नो सहमति रहेको पनि बताएका छन् । उनले हामी नेपालीहरूमा गहिरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने ‘सिक्किमीकरण’को खतराको त्रास पनि औँल्याएका छन् ।
यस्तो छ भट्टराईको पूरा भनाइ
रास्वपा सभापति रवि लामिछानेको द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरंग ल्याएको छ । त्यसमा हाम्रो पनि सहमति नै छ ।
खासगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता÷संस्कृति (रोटी–बेटी) का कुरा गरुन्जेल दुवैतिर वाहीवाही नै हुन्छ । मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो ।
तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो । अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुवै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ । त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बोल्दैनौँ तर खास्टोमुनि मुड्की बजारिरहन्छौँ ।
त्यो हो– सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो । त्यसको पनि गाँठी कुरा हो– भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ (हिमालयन फ्रन्टियर) भन्ने सोच (सीमा विवाद त्यसैको अभिव्यक्ति हो) ।
अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने ‘सिक्किमीकरण’को खतराको त्रास ।
यही जरो कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहो¥याउन अभिशप्त भइरहेछ ।
यही गाँठो फुकाउन मैले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा आफू प्रम छँदा राम्रैसँग भित्री र बाहिरी तयारी गरेर ईपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) को अवधारणा अघि सारेको थिएँ । परन्तु पछि गठित ईपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशय्यामा छटपटाइरहेको जगजाहेरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया