रवि लामिछानेको भारतलाई प्रस्ताव : नेपाल–भारत सम्बन्ध ‘विकास कूटनीति’मा केन्द्रीत गरौँ

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भू–राजनीतिक खिचातानीबाट माथि उठाएर विकास कूटनीतिमा केन्द्रीत गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

भारतीय अखबार हिन्दुस्तान टाइम्स मा मंगलबार प्रकाशित एक लेखमार्फत उनले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र भारतसँग सहकार्यका नयाँ सम्भावनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा हालै भएको राजनीतिक परिवर्तनलाई ब्यालेट बक्स क्रान्ति को संज्ञा दिँदै नयाँ राजनीतिक नेतृत्व विगतको ऐतिहासिक बोझबाट मुक्त रहेको दाबी गरेका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी को उदयले सुशासन र जनताप्रति प्रत्यक्ष उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको उल्लेख गरेका छन् ।

लेखमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल सीमाले जोडिएको सम्बन्धका रूपमा नलिई आर्थिक रूपमा एकीकृत साझेदारीतर्फ लैजानुपर्ने प्रस्ताव गरेका छन् । उनले रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, काठमाडौं बेङ्गलुरु डिजिटल कोरिडोर, तथा पोखरा र लुम्बिनीबाट भारतका विभिन्न सहरहरूमा सीधा हवाई उडान विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, नेपालको जलविद्युतलाई भारतको औद्योगिक विकाससँग जोड्न सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्न सहकार्य गर्न सकिने उनको धारणा छ। यस सन्दर्भमा भारत सँगको दीर्घकालीन आर्थिक साझेदारीलाई उनले प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन् ।

लामिछानेले सीमा विवाद तथा अन्य थाती रहेका मुद्दाहरूलाई अति–राष्ट्रवादी नाराभन्दा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा व्यावहारिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आज नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणलगायत विषयमा केन्द्रीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?