गण्डकी । मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसन ले संयुक्त रुपमा सञ्चालन गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ ।
गत वैशाख २७ गते पूर्वको मेचीपुलबाट सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै हाल सिन्धुपाल्चोक पुगेको आश्रमकी केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिइन् ।
उनका अनुसार सातै प्रदेशमा उद्धार टोली परिचालन गरिएको छ भने अभियान यही जेठ २१ गतेसम्म सञ्चालन हुनेछ । उद्धार यात्राको समापन जेठ २२ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गरिने तय भएको छ ।
‘यो झरी वर्षामा कोही पनि नरहून् सडकमा’ भन्ने आदर्श वाक्यसहित सुरु गरिएको अभियानअन्तर्गत सडक आश्रित असहाय, बेसहारा तथा अशक्त व्यक्तिहरुको उद्धार गरी नजिकका मानवसेवा आश्रममा राखिएको छ । अभियानका लागि आर्थिक व्यवस्थापन आनीछोइङ डोल्मा फाउन्डेसन ले गरेको जनाइएको छ ।
उद्धार यात्रामा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्मा समेत सहभागी रहेकी छन् । मानवसेवाभन्दा ठूलो धर्म अर्को नभएको उल्लेख गर्दै उनले जीवनलाई सार्थक बनाउन सेवाभावमा जोडिनुपर्ने बताइन् ।
मानवसेवा आश्रम ले नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ । विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको आश्रमका हाल देशभर २१ जिल्लामा ३० सेवा केन्द्र सञ्चालनमा छन् । आश्रममा दुई हजारभन्दा बढी अशक्त, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरुले आश्रय लिइरहेका छन् ।
आश्रमका अनुसार हालसम्म दुई हजार ८०० भन्दा बढी व्यक्तिलाई पारिवारिक पुनर्मिलन गराइएको छ । सडकबाट उद्धार गरिएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिइने आश्रमकी सह–कोषाध्यक्ष सुमिरा लामाले बताइन् । पुनर्मिलन सम्भव नभएका व्यक्तिलाई आश्रममै राखेर पालनपोषण तथा उपचार गरिँदै आएको छ ।
मकवानपुरको हेटौँडामा केन्द्रीय कार्यालय रहेको आश्रमका भवन तथा सेवा केन्द्र विस्तारको काम विभिन्न जिल्लामा जारी छ । गण्डकी प्रदेशअन्तर्गत कास्की, बागलुङ, लमजुङ र गोरखामा शाखा भवन निर्माणाधीन अवस्थामा रहेका छन् । सरकारी निकाय, विभिन्न सङ्घसंस्था तथा दाताको सहयोगमा संरचना निर्माण भइरहेको आश्रमले जनाएको छ ।
‘सबैका लागि खाना, नाना र छाना’ भन्ने मूल नारासहित मानवसेवा आश्रम सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पुनर्स्थापनामा सक्रिय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया